काठमाडौँ । काँग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्ताबेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्ताबेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट छ ।
‘सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो । लोकतन्त्र आत्म अनुशासनसँग जोडिन्छ र आत्म अनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ । नेपाली काँग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछु काँग्रेसको दस्ताबेजमा छ ।
वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको खड्काले दाबी गरेका छन् । ‘यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली काँग्रेस आफ्नो प्रतिबद्धता दोहोर्याउँछु,’ खड्काले पेश गरेको दस्तावजेमा छ ।
नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्ने र देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली काँग्रेसको प्रमुख नीति हुने उल्लेख छ ।
कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली काँग्रेस मुक्त रहेको उल्लेख छ । ‘सामूहिकता, सुकर्म र आत्म अनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली काँग्रेसले पूरा गर्नेछ,’ दस्ताबेजमा छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०