काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएको छन् ।
एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत प्रधानमन्त्रीलाई बुझाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका हुन् ।
आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर प्रश्न गरेको थिए ।
‘झुलाघाट-चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’, प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताए ।
उनले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको भन्दै प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल र निर्देशन दिइसकेको समेत जानकारी गराए ।
‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ । समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ’, प्रधानमन्त्रीले भने, ‘सरकार यो विषयमा गम्भीर छ । उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०