काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ।
आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ। भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्यो।
नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए। सीताले ३७ बलमा २ चौका र १ छक्का तथा रुबिनाले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे। नेपालकी ओपनर कविता कुँवर ५ रन र कप्तान इन्दू बर्मा १ रनमै आउट भएका थिए। कवितालाई भुटानकी अञ्जु गुरुङ र इन्दूलाई अञ्जुली घलेले आउट गरेका थिए।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो। भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन्।
यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे। नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए।
समूह ‘डी’ मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०