काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्मेलनले जिल्लामा संगठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।
सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौँका नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०