काठमाडौँ । अर्थ मन्त्रालयले एक महिनामै २९ अर्ब रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा बढी बजेट मल खरिदका लागि स्रोत सहमति प्रदान भएको हो ।
मन्त्रालय स्रोतका अनुसार पुस २०८० मा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजार बराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ ।
त्यसमध्ये रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । यो कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाएको हो ।
सिंहदरवार ग्यालरी बैठकको रेट्रोफिटिङ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि थप स्रोत सहमति दिइएको छ । जसमा क्रमशः ६० करोड र २० करोड रुपैयाँ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न खण्डका लागि स्रोत सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०