काठमाडौँ । नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ । जसमा ७५१ वटा माग रहेका छन् । सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।
यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त माग, सुझाव र अनुभूतिहरूसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको र त्यही विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले यात्राका क्रममा विभिन्न राजनीतिक दल, उद्योगी-व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डाहरु जस्ताको त्यस्तै सरकारसम्म पुर्याएको जनाएको छ ।
‘मध्यपहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरू ठप्प भएको देखिएको छ । बजेट विनियोजनमा विभेद भएको, भूकम्पपछिको पुन स्थापनामा सरकारले ध्यान पुर्याउन नसकेको, बसाइँसराई तीव्र रूपमा बढिरहेको जस्ता गुनासाहरू आएका थिए,’ उपमहासचिव ज्ञवालीले भने, ‘यी र अन्य सयौँ विषयहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छौँ ।’
उनले एमालेको यात्रालाई देशभरिबाट उत्साहजनक जनसमर्थन मिलेको भन्दै आफूहरूले त्यसलाई गणतन्त्र र वर्तमान संविधानको पक्षमा आएको समर्थन भनेर बुझेको बताए ।
ज्ञवालीका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले एमालेले यात्राका क्रममा सङ्कलन गरेका सुझावहरूलाई सरकारले गम्भीररुपमा ग्रहण गर्ने बताएका थिए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले एमालेले दिएका सुझावहरू, मागहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०