काठमाडौँ। कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरू मात्र पूरा गर्न सकिने बताएका हुन् ।
गत फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी राखेको थियो । तर उक्त नामको विपक्षमा रहेका विभिन्न राजनीतिक दल जातीय संघ-संस्थाहरुले पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जबेगुले पहिचान पक्षधरको मागलाई केही न केही हदमा पूरा गर्ने कोसिस गर्ने बताए ।
पहिचान पक्षधरसँग वार्ता गर्नुअघि कोशी सरकार र प्रदेशसभामा रहेका दलहरूसँग छलफल गर्ने पनि उनले बताए । कोशी सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न शनिबार वार्ता समिति गठन गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०