काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने बताएका छन् ।
युगान्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए ।
उनले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ । सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ । सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन् ।’
कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगान्डा गएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०