काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । नेपाल-भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् । विमानस्थलमा विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेशमन्त्रीका रूपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
यसपटक उनी नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् । त्यसक्रममा विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
उनको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू रहेका छन् ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशंकरले काठमाडौंमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०