काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेकोछ ।
यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ ।
एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौं युवाहरु सहभागी छन । रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ ।
आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको बताए । किनकी आईटी बिना देशको बिकास सम्भव छैन । बैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको उनले बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए ।
आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए । यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने उनले जनाएका छन् ।
‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मीसंग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ´ साहले भने ।
उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा देखिएको समस्या समाधान र समृद्धिका लागि अहिलेको सरकार विघटन गरि अन्तरिम सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०