काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
उनले हिजो (बुधबार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।
मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’ केही दिनअघि साम्पाङले विवादित स्ट्याटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०