काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
जवाफमा कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो । कोशीलाई जिताउनका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले उत्कृष्ट पारि खेले । रुविनाले ५५ बलमा ५१ रनको नटआउट पारि खेल्दा १ छक्का र ८ चौका प्रहार गरिन् ।
स्कोर लेभल भएका बेला काजल श्रेष्ठ आउट भइन् । उनी अर्धशतक बनाएर आउट भएकी हुन् । उनले ४८ बलमा ५४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । काजल आउट भएका बेला अप्सरी बेगम खाता नखोलेर आउट भएपछि दोस्रो विकेट गुमाएको थियो । तर, क्रिजमा आएका विमला मालाले ४ रनको नटआउट पारि खेल्दै जित दिलाइन् ।
अन्त्यमा कोशीले गुमाएका दुवै विकेट अनु कडायतको नाउँमा रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि विन्दू रावलले ३३ रन बनाइन् । उनले ३९ बल फेस गर्दा ५ चौका प्रहार गरिन् । यसैगरी सम्झना खड्काले ३१ बलमा २७ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।
यसैगरी कविता जोशीले २४ बलमा २६ रन नटआउट बनाउँदा ३ चौका हिर्काइन् । यस्तै रेवती धामीले १८ बलमा २० रनको नटआउट पारि खेल्दा ३ चौका प्रहार गरिन् । कोशीका लागि सबनम राइ र अप्सरी बेगमले एक एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०