काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ ।
महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्ने छन् । संघीय सांसदको उम्मेदवारका लागि ‘उम्मेदवार क्लब’ गठन गर्ने सन्दर्भमा पार्टीले सोच बनाई नसकेको महामन्त्री ढकाल बताए ।
११ देखि १३ मङ्सिरसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । रास्वपाका अनुसार उम्मेदवार क्लबमा दर्ता भएकालाई प्रशिक्षित गरिने छ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण रास्वपाले दिनेछ ।
निर्वाचन जितेपछि गर्नुपर्ने कामका लागि उम्मेदवारलाई स्पष्ट बनाउने गरी प्रशिक्षित गराउने रास्वपाले जनाएको छ । महामन्त्री ढकालका अनुसार ‘उम्मेदवार क्लब’ उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०