काठमाडौँ । बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौँ प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।
कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए ।
विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटेल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढङ्गले अनुसन्धान अगाडि बढाएको थियो ।
सरकारी वकिलसँगको बयानमा कमलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । उनका अनुसार ३-४ वर्षअघि रमेशले सञ्चालन गरेको होटलमा उनी काम गर्थिन् । त्यसयता आफूलाई बेलाबखत उनले पैसा पनि दिने गरेको बयानका क्रममा उल्लेख गरेकी छिन् ।
२-३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि बताएकी छिन् । विभिन्न दबाब दिएर आफूलाई जाहेरी दिन लगाइएको उनको भनाई छ । रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको कमलाको दाबी छ ।
विशालका अनुसार बलात्कार भएको भनिएको दिन उक्त होटलमा उनकै मोबाइल नम्बर इन्ट्री गरिएको थियो । उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । रमेश भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । रमेश र अनिताविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०