काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् ।
आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए ।
गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरू भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको उनले बताए । अर्थमन्त्री र गभर्नर बीच सम्बन्धमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे ।
पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए । रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे ।
अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाई सबै मिलेर चिर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०