काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
बिहीबार पोखरा क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि आर्मी उपाधि नजिक पुगेको हो।बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा गर्यो।
आर्मीको जितमा भीम सार्कीले ३९ रन र सोमपाल कामीले नटआउट १४ रन जोडे। भीमले ३५ बलमा ५ चौका तथा सोमपालले १२ बलमा १ छक्का प्रहार गरे।
कुशल मल्लले ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा २५ रन जोड्दा अरू ब्याटर दोहोरो अङ्कमा रन नजोड्दै आउट भए।
बलिङमा बागमतीमा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो।
खराब ब्याटिङ गरेको बागमतीका लागि प्रतीक श्रेष्ठको नटआउट ५० रन महत्त्वपूर्ण साबित भयो। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।
त्यसअघि ओपनर शुभ कंसाकार ३ रन, रित गौतम १४, इशान पाण्डे १२ रन, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा बागमतीले १०.१ ओभरमा ४४ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाएको थियो।
प्रतिश जिसी पनि शून्यमा आउट हुँदा कप्तान सन्दीप लामिछानेले २२ बलमा १९ रनको योगदान गरेका थिए। बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए। सोमपाल कामी २ विकेट लिए भने विवेक यादवले १ विकेट हात पारे।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०