काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।
केही दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भएका थिए ।
आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।
उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’ उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए ।
उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’
उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०