काठमाडौँ । विद्युत् महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटिएको छ ।
लाइट काटिएपछि मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत् प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि मन्त्रालय विद्युतविहीन हुन पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कनेक्सन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।
कार्यालयका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ । सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले कुनै जिम्मेवारी नलिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कटौती गर्नुपरेको दाबी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०