काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो ।
हाल काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘पैदल यात्रुले स्विच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ श्रेष्ठले भने ।
उनले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताए । उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०