काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने निर्णय गरेको हो ।
नेकपा एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न आफूहरूले विश्वासको मत दिन लागेको नेकपा एस कोशी प्रदेश संसदीय दलकी सचेतक विद्या चाम्लिङले जानकारी दिइन् ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई यसअघि नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । सचेतक चाम्लिङका अनुसार यस विषयमा पार्टीले आधिकारिक निर्णय नगरे पनि माथिल्लो कमिटीबाट विश्वासको मत दिने सङ्केत आएको छ ।
एस समाजवादीले विश्वासको मत दिएर सरकारमा समेत सहभागी हुने बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०