काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।
सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो। पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको बर्ताइएको छ ।
सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरू नयाँबसपार्कमा आएर लाइन लागेका थिए। नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन्।
सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।
नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०