काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नेपालगन्ज उपमहानगर क्षेत्रमा लगाइएको कर्फ्यु र निषेधाज्ञा मंगलबार बिहान ४ बजेदेखी लागु हुने गरी पूर्ण रूपमा हटाइएको जानकारी दिएका छन्।
नेपालगन्जमा दुई समुदायबीच उत्पन्न विवादका कारण असहज परिस्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले यही असोज १६ गते दिउँसो १ बजेदेखी कर्फ्यु जारी गरेको थियो। त्यसपछि जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा मात्र जारी गरेको थियो।
विषम परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण, समन्वय र सहयोग गर्ने धर्म गुरुहरू, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मी लगायत सबैमा प्रशासनले आभार व्यक्त गरेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०