काठमाडौँ । इजरायलमा बङ्करमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने सरकारले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बङ्करमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग नियमित सम्पर्क भइरहेको छ । इजरायली पक्षले तीन घण्टाभित्रै बङ्करमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको बताइएको छ ।
आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बङ्करबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको सचिवालयको भनाई छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको निधन भएको छ। कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०