काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन्। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ता लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका हुन्।
आज अपराह्न ४ बजे सिंहदरवारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले आजै साँझ ५ बजे सिंहदरवारमा नै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
नेपाली समयअनुसार शनिवार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन्।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०