काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरूका सबै जायज माग सम्बोधन गरिने बताएका छन् । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरूको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ ।
शिक्षक महासङ्घ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै शिक्षामन्त्री राईले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘उपयुक्त र जायज मागहरूलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षकलाई सम्मानित गर्न र सही ढङ्गले क्रियाशील बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्छ ।’
संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ ।राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ ।
वार्ताका क्रममा ‘अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्ने’ भनिएको उल्लेख गर्दै उनले त्यस अनुसार अगाडि जान सरकार प्रतिबद्ध रहेको स्पष्टीकरण दिएका छन् । सरकार शिक्षा क्षेत्रमा लगानी बढाउनेमै रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०