काठमाडौँ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशि चार-चार लाख रुपैयाँ छ ।
ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरूमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।
२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०