काठमाडौँ । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।
चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । यो टि–२० इतिहासकै उच्च योगफल हो ।
यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।
तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनै पनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी समेत हो । दीपेन्द्रले ९ बलमै अर्ध शतक पूरा गरे । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०