काठमाडौँ । काठमाडौँ महानगरपालिका र सामाजिक अभियन्ता ईः को टोलीबीच वार्ता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई को साथीहरुबीच वार्ता सुरु भएको हो ।
वार्तामा काठमाडौँका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन् । महानगरले ईः सँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।
अभियन्ता ई फुटपाथबाट फुटपाथ व्यापारीहरूलाई बैकल्पिक विकल्प नदिई हटाएको भन्दै ८ दिन देखि सभागृहअगाडि उभिएर प्रदर्शन गरिरहेका छन् । वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ई पनि वार्तामा नआएका हुन् ।
महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धिरज जोशी सहभागी छन् भने ईःको टोलीबाट विवेकशील साझाका सह संस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् । आजै उपमेयर सुनिता डङ्गोलले अभियन्ता ई लाई गएर भेटेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०