काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग छ ।
शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको बताएका हुन् ।
‘प्रमुख प्रतिपक्ष ज्यादा एग्रेसिभ र अधैर्य भएर प्रस्तुत भइराख्या छ’ प्रमुख सचेतक लेखकले भने । उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए ।
शुक्रबार पनि दोहोर्याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन् ।’
लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे । ६-७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स-साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृत्ति देखा परेको बताए ।
यस सम्बन्धमा पार्टीले राजनीतिक रूपमा निर्णय नै गरेर बोल्नुपर्ने पमुख सचेतक लेखकको आग्रह छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०