काठमाडौँ । प्रधानमन्त्री को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यकता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले बढीमा १० जना हुने गरी नयाँ सूची तयार पारेको हो ।
यस्तै अमेरिकाबाट न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापासहितका अधिकारीहरू र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट राजदूत श्रीधर खत्रीसहित अन्य अधिकारीहरू गरी थप १४ जना प्रतिनिधि मण्डलमा जोडिनेछन् ।
यससँगै महासभामा नेपालको तर्फबाट सहभागिता जनाउने प्रतिनिधि मण्डलको संख्या २४ जना हुनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उनको सचिवालयका दुई जना सुरक्षाकर्मी, स्वकीय सचिव गङ्गा दाहाल र फोटोग्राफर प्रदीपराज वन्त रहने छन् ।
यस्तै परराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद मंगलबार नै पूर्व तयारीका लागि न्यूर्योक प्रस्थान गरिसकेका छन् । उनीसँग उनका स्वकीय सचिव दीपकराज जैशी पनि न्यूर्योक गएका छन् । प्रधानमन्त्रीसँग परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलीप कुमार पौडेल र थप एकजना प्रोटोकल अधिकृत पनि रहनेछन् ।
प्रधानमन्त्री नेतृत्वको बाँकी प्रतिनिधि मण्डलमा ३० भदौमा महासभाको ७८ औँ सभामा सहभागी हुन न्यूर्योक प्रस्थान गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले महासभामा नेपालका तर्फबाट ४ असोजमा सम्बोधन गर्नेछन् । त्यसपछि ५ असोजमा प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सीधै चीन प्रस्थान गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०