काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थका निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्न सुझाव दिए ।
प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न आज बैठक राखेका थिए । तर, बैठकमा आफू उपस्थित हुन नसकेको भन्दै भट्टराईले तीन बुँदे सुझाव दिएका छन् ।
यस्ता छन् भट्टराईका सुझाव
१. बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैँ पालना गर्ने परम्परा बसालौँ। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमतिरसम्झौता नगरौँ ।
२. एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्ध (वा उष्णयुद्धरु) को सन्दर्भमा नेपालले आफ्नो विशिष्ट भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहिरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ ।
हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनता/सार्वभौमिकता/भौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ । यो डोरीमाथिको हिँडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो । यस निम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचारमन्थनबाट राष्ट्रिय रणनीति तय गरौँ र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौँ ।
३. तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिऊँ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०