काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न र प्रधानमन्त्री पुष्पकमल ‘‘प्रचण्ड’को सत्ताको आयु लम्ब्याउन मात्रै प्रयोग भएकाले छिटै पतन हुने दाबी गरे ।
मोर्चामा रहेका दलहरुबीच वैचारिक र सैद्धान्तिक विषयमै ठूलो मतभेद रहेकाले यसको आयु धेरै नहुने उनले बताए । आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने उनको दाबी छ ।
‘समाजवादी मोर्चाले जनजीविका, राष्ट्रियताको रक्षा गर्दैन, यसले संसदवादलाई संस्थागत गर्छ,प्रचण्डलाई सत्ता टिकाइराख्न बार्गेनिङ टुल्सको काममात्रै गर्छ,’प्रधानमन्त्री ‘प्रचण्ड’ र ‘विप्लव’कापुर्व सहकर्मी समेत रहेका बास्तोलाले भने,’यो मोर्चा पतनको बाटोमा छ, चुनावमा गए एक सिट पनि जित्दैन भनेर ‘प्रचण्ड’लाई पनि भनिदिएको छु ।’
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०