काठमाडौँ । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भएको थियो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।
कानुन अभावमा संविधानतः प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जबाफदेही बन्नुपर्नेमा जोड दिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान अनुकूल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसदमा ल्याउने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले एक साता बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०