राष्ट्रिय स्वतन्त्रपार्टीको समानुपातिक तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने शिव नेपाली पोखरेली युवा राजनीतिकर्मी हुन् l राजनीतिमा रुचि भए पनि औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेश गरेको गत वर्ष २०७९ साउन ७ गते पोखराको सभागृहबाट मात्र हो l भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पोखरा आउने र कार्यक्रम गर्ने खबर पाएका नेपाली रवि लामिछानेलाई मन पराउँथे l सोही क्रममा पोखरा नै आएको मौका पारेर प्रत्यक्ष सुन्न र रास्वपाबारे बुझ्न शिव आफ्ना केही साथीका साथ कार्यक्रम स्थल पोखरा सभागृह पुगेका थिए l
पोखरा नगर कमिटि गठनको तयारी चल्दै थियो त्यसैबेला कार्यक्रम स्थलमा आफूभन्दा पछाडि रहेका देव नेपाली भाइले शिवलाई अगाडि धकेलेर दाइ बस्नु हुन्छ भन्दै नगर कमिटीमा सम्पर्क व्यक्तिको रूपमा चयन गर्न मद्त गरे l यही आकस्मिक धकेल्याई र रास्वपा ज्वाइन नै शिव नेपालीको लागि जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च थलो प्रतिनिधिसभा प्रवेश गर्दै माननीय बन्ने अवसरको प्रवेश द्वार बन्यो l
रास्वपाको समानुपातिकतर्फ दलितको प्रतिनिधित्व गर्ने गरी भएको आन्तरिक निर्वाचन उमेद्वार छनौटमा दोस्रो स्थानमा ५४१ मतका साथ छानिनु र पार्टीले पाएको समानुपातिक मतको आधारमा प्रतिनिधिसभामा पठाउनु एक अनौठो संयोग जस्तो लाग्छ l जबकि भोट माग्ने बेला कार्यक्रम गर्ने बेला साथ दिने मान्छे थिएनन् l कति असहज र अप्ठ्यारो सामना गर्नु पर्यो l पोखराको माटोमा आफ्नो जीवनका चालिसौं वर्ष बितेको र सामाजिक काममा आफूलाई अभ्यस्त राखेको कारण अनि रास्वपाको राष्ट्रव्यापी लहरको कारण राम्रो भोट आउँछ भन्ने लागेको थियो रे शिवलाई l
रास्वपाका २१ जल्दाबल्दा सांसद मध्ये एक हुन् शिव नेपाली l आमा जुनकिरी नेपालीले शिवलाई सुनाए अनुसार शिवको जन्म मिति २०३७ साउनको अन्तिम बिहिबार हो भने उनको नागरिकतालगायत कागजपत्रमा २०३७/१२/३० हो l पोखराको भद्रकालीमा जन्मेर त्यहीँको अमर सिंह मा.वि.बाट २०५४ मा एस.एल.सी. उत्तीर्ण शिव कालिका मल्टिपल क्याम्पसबाट आइकम उत्तीर्ण हुँदै पृथ्वीनारायण क्याम्पस पोखराका वाणिज्यशास्त्रका (विकम) तेस्रो वर्षसम्मका विद्यार्थी हुन् l
क्लवसँगको आवद्दता
सानैदेखि खेलकुदमा रुचि भएका, फुटबल र क्रिकेटका फ्यान शिव आफ्नो गाउँका विभिन्न क्लवमार्फत समाजसेवा र खेलकुदमा सक्रियतापूर्वक सहभागी बन्दै संगम क्लवको सचिव र महासचिव गरेर १५ वर्ष सक्रिय रहे l त्यस्तै श्री भद्रकाली जनउत्थान समाजको सचिव र लायन्स क्लव अफ पोखराको सहसचिव र सचिवको भूमिका निर्वाह गरेर समाज र खेलकुदमा योगदान गर्दै आफ्नो नेतृत्व क्षमतालाई खारेका व्यक्ति हुन् l मुश्लिम युवा क्लव, सत्य युवा क्लव,सहारा युवा क्लवलगायतमा सल्लाहकार रहेर आफ्नो उर्वर युवा समय विभिन्न सङ्घसंस्था मार्फत सामाजिक कामसँग जोडिएको अनुभवले आज शिव राजनीतिमा लागेर नेता र सांसद बनेका छन् l
व्यवसायमा प्रवेश
शिवले २०५८ बाट आफ्नो आयआर्जनको लागि व्यावसायमा हात हाले l त्यतिबेला कम्प्युटर सिक्ने र कम्युनिकेशन चलाउने व्यवसायको राम्रो स्कोप र आम्दानी थियो l शिव आफूले पनि कम्प्युटर सिकेको र सिकाउन जान्ने भएको कारण उनले २०,२५ वटा सम्म कम्प्युटर राखेर कम्प्युटर प्रशिक्षक र कम्युनिकेशन साइबर संचालक बने l त्यतिबेला सो व्यवसाय राम्रोसंग चलेको थियो तर माओवादी द्वन्दको कारण गाउ शहरबाट कि माओवादी बन्ने कि विदेश जानेक्रम तीव्र रूपमा सुरू भयो र चलिरहेको व्यवसायमा अनेक बाधा उत्पन्न भए l व्यवसाय सन्तोषजनक भएन शिवको मन पनि स्वदेशमा बसेर केही गर्न नसकिने भयो अब विदेश भन्ने स्थितिमा पुग्यो l त्यतिबेला नै एक लाख पचास हजार खर्च गरेर आफ्नो सपनाको फसल फलाउन शिव दुबई उडे l दुर्भाग्य दुवई पनि सोचे जस्तो रहेन l
त्यहाँ पनि पैसा फल्ने रुख सहजै भेटिएन नेपाल गए कपालसँगै वर्मा गए कर्मसँगै भने जस्तै भयो उति राम्रो कमाई भएन र नेपाल फर्किए l नेपाल त्यो दिन फर्किए जुन दिन २०६२/०६३ को १९ दिने लामो जनआन्दोनले गरेको बन्द खुलेको पहिलो दिन थियो l सो बन्द पश्चात पहिलो दिन नेपालको एयरपोर्ट टेकेका कतिको भाग्य चम्कियो कतिको दिन फिर्यो थाहा भएन l लाहुरे भएर वैदेशिक रोजगारीमा गएका शिव रित्तो हात फर्किए तर खाली हात फर्किएको १६ वर्ष पछि नेपालको नीति निर्माण गर्ने र सरकार बनाउने सङ्घीय संसदमा प्रतिनिधित्व गर्न पाए त्यति मात्र होइन एक महिना केहि दिन नेपाल सरकारको सत्ताधारी दलको सदस्य समेत बन्ने मौका पाए l
संसद्को चौथो ठुलो दल रास्वपा आज संसदमा प्रभावकारी हस्तक्षेपसहित उपस्थित छ l कुनै पनि मानेमा यो दल उपेक्षामा पर्दैन किनकि सत्ताको गणितमा अलिकति तलमाथि थोरै हेराफेरी हुने स्थिति आयो कि तीन ठुला दल रास्वपाको चरण स्पर्श गर्न बाध्य हुन्छन् l यसर्थ संसदमा रास्वपाको उपस्थिति असमान्य छैन l रास्वपाले यथेष्ट भाउ पाउँछ जसको कारण रास्वपा उपप्रधानमन्त्री सहित शक्तिशाली गृहमन्त्री लिएर सरकारमा जाने सौभाग्य प्राप्त गर्यो l यद्दपि सो भाग्य,दुर्भाग्यपूर्ण बने पनि राजनीतिमा बारम्बार दिनु पर्ने चरम सङ्कटका परीक्षा थिए l
शिव नेपाली भन्छन् : ‘हामीले हाम्रो दुर्भाग्यलाई सौभाग्यमा यसरी रूपान्तरण गर्यौ कि गृहमन्त्री र सांसद गुमाएर पनि गुमाएको ठाउँमा लोकप्रियताको हदमा पुग्यौ भने अर्को स्थानमा पनि उपनिर्वाचन मार्फत लोकप्रिय र सानदार मत साथ जित्यौ l’ दुर्भाग्यलाई सौभाग्य भनेको मतलव चितवनमा पार्टी सभापति रवि लामिछानेको पुन विजय र तनहुँबाट डाक्टर स्वर्णिम वाग्लेको जिततर्फ माननीय नेपालीको सङ्केत थियो l रास्वपालाई अझ पनि अवसर आउने परिस्थतिहरू निर्माण हुन्छन् तर परिस्थतिको गलत फाइदा लिएर पुराना दलको नियत र नियति दोहोर्याउँछ कि पृथक रहेर आफ्नो छुट्टै राजनीतिक मानक र इमानको राजनीति गर्छ परीक्षाहरू क्रमशः आइरहन्छन् l
दुवई (लाहुर) बाट फर्केपछि
शिव नेपालीका बुबा ध्रुवलाल नेपाली राँगा भैसीको व्यापार व्यसायमा संलग्न हुनुहुन्थ्यो l जुन व्यवसायमा एक स्थानबाट अर्को स्थान पोखरा,बिरगंज, बिरगंज पोखरा र पोखरा काठमाडौँ लगायत देशको पूर्व पश्चिम उत्तर दक्षिणमा ढुवानीको लागि ट्रक चाहिन्थ्यो l बुबाले गरेको पेशालाई पनि सहज हुने र घरको पैसा बाहिर नजाने सम्झेर शिवले ट्रक व्यवसायमा हात हाले, यातायात व्यवसायी बने l
तीन ट्रक हालेर सुरू गरेको व्यवसाय ६ वटा ट्रकसम्म पुग्यो l यातायात व्यवसायी बन्ने क्रममा शिवले ट्याक्सी व्यवसाय पनि गरे र तीन वटा ट्याक्सी चलाए l साथै साथीहरूसँगको साझेदारीमा कन्सल्टेन्सीमा पनि हात हाले l व्यापार अपार पनि भयो अनि व्यापार अभिशाप पनि l शिवले व्यापारबाट मनग्गे कमाए पनि, गुमाए पनि l भूकम्प र नाकाबन्दीले गर्नु नगर्नु गर्यो व्यवसाय डुब्यो l शिव सुनाउँछन् ‘मलाई व्यापार अभिशाप र वरदान दुवै भयो l करोडौ कमाए त्यत्तिकै गुमाए पनि l’
‘म आमाले बनिबुतो गरेर ल्याएर पालेको मान्छे हुँ मैले कर्म गरे, कर्म गर्दा कहिले जिते कहिले हारें l हार र जित राम्रो नराम्रो दुवै हो जिन्दगी l बनी गर्न जाँदा, अर्म-पर्म गर्न जाँदा आमाले पोल्टामा ल्याएको खाजा सबै भन्दा मिठो लाग्ने दिन भोगेको मान्छे अहिले पाँच तारे होटलमा कार्यक्रम हुँदा खाइने खाजामा त्यतिमजा आउँदैन जुन मजा मेरी आमाको फाटेको पोटुकाको पोको खोलेर खाँदा आउँथ्यो l’
आफूले यातायात व्यवसाय गरेको कारण यातायात व्यवसायी र मजदुरको कथा व्यथा, र कतिपय अवस्थाका यातायात सम्बद्द नियमहरूले गरेका बाधा नजिकबाट चिनेको र बेहोरेको छु l भारतीय ट्रकको बिगबिगी र खराब रोड नेपाली व्यवसायीलाई उँभो लाग्न नदिने महारोगहरू हुन् l भारतीय सीमासम्म मात्र दुवै देशका ट्रक व्यवसायी सीमित हुने हो भने नेपाली व्यवसायीहरूलाई व्यवसाय गर्न सहज हुन्छ l यातायात व्यवसायी भएर यो क्षेत्रको अनुभवको कदर गर्दै शिवलाई पार्टीले यातायात विभाग हेर्ने केन्द्रीय जिम्वेवारी दिएको छ भने संसदमा पूर्वाधार विकास समितिको सदस्य छन् l
संसदमा भूमिका / संसद बन्द हुँदाको पीडा
संसदमा शिवले विविध विषयमा आफ्ना कुरा जमेर नै राख्ने गरेका छन् l अन्य पार्टीमा संसदमा बोल्न पाइएन प्रमुख सचेतकले समय दिएनन् भन्ने गुनासो सुनिन्छ तर शिव भने आफूले प्रयाप्त समय पाएको र रास्वपाले संसदमा बोल्न आफ्ना सदस्यहरूलाई प्रेरित गरेको बताउँछन् र प्रमुख सचेतकको रूपमा सांसद सन्तोष परियारको भूमिकाको सर्हाना गर्छन् l पीडा त्यतिबेला भयो गुनासो त्यतिबेला रह्यो जतिबेला २८ दिन जनताका कुरा वर्खाकाका समस्या, बाढी पहिरोलगायत विषयमा सरकारलाई घच्घच्याउने गरी बोल्न पाइएन l संसद नखुल्नु भनेको जनप्रतिनिधिको मुख थुन्नु जत्तिकै हो l समस्याको छलफल हुने ठाउँ बन्द गरिनु खेदजनक छ l शिव संसदमा दलितको कुरा गर्छन, सुकुम्बासीका कुरा गर्छन यातायात व्यवसायीको कुरा गर्छन, मजदुर र रोजगारीका कुरा गर्छन्,समग्रमा पीडामा बाँच्ने हरकोहीको समस्या बोल्छन् l
दलित विस्थापनको पीडा
देशभर दलित समुदायको जग्गा जमिन सजिलो ठाउँमा प्राय पाइन्न कहीं कतै भएको पनि आर्थिक अभाव अशिक्षाको कारण अलिकति आकर्षक जस्तो मोल आउनसाथ बेच्ने प्रवृतिले गर्दा राम्रो ठाउँमा भएका समिति दलित बस्ति पनि विस्थापनको चपेटामा परेका छन् l पोखराको लेक साइड, भद्रकाली, न्युरोड, मालेपाटन जहाँ दलितको बाहुल्य थियो आजकल दलित अल्पसंख्याक बनेका छन् यस्तो पीडा र चपेटा देशभर रहेको छ l यसबारे दलित समुदायका सचेत मान्छेले सोच्नु पर्नेछ l
दलहरूसँग दलितको मुद्दा छैन
नेपालमा करिब ६० लाख दलितको जनसंख्या छ l यति ठुलो जनसंख्या आज पनि मान्छे हुन नपाएको पीडा बोकेर बाँचेको छ l दलितको समस्या र पीडालाई राजनीतिक रूपमा दलहरूले समाधान गर्ने प्रयत्न गरेका छैनन् l सांस्कृतिक र धार्मिक पक्षबाट मात्र यसलाई हेरिएको छ l समग्र आर्थिक राजनीतिक र सामाजिक व्यवस्थाबाट दलितको समस्या सम्बोधन गर्ने कुनै दलको एजेण्डा छैन l प्रधान विषय बनेको छैन दलितको सवाल l सामान्य मानवीय त्रुटी र सांस्कृतिक धार्मिक परम्परा भनेर मात्रै बुझिएको छ l दलित बनाइनुको बहुआयामिक पक्षलाई दलहरूले विश्लेषण र मूल्याङ्कन गरेका छैनन् l जात व्यवस्थाको कारण आर्थिक रूपमा विपन्न राजनीतिक रूपमा पहुँच विहीन र सामाजिक रूपमा अपहेलित गरिएको कुरा हृदयत स्वीकार गरिएको छैन l
वर्णव्यवस्था कसरी जात व्यवस्थामा परिणत भयो ? कामको आधारमा विभाजन संसारभर गरियो तर दक्षिण एशियामा यो छुट्टै जात व्यवस्थामा परिणत भयो l श्रम विभाजन संसारभर भए पनि छुवाछुत गरिनुको कारण के हो ? छुवाछुतको नाता कतै न कतै धर्मसँग गएर ठोक्किएको छ,यसको सामाजिक, धार्मिक,राजनीतिक शल्यक्रिया आवश्यक छ l हाम्रो पार्टीको बन्दै गरेको दस्तावेजमा दलितको मुद्दा विशेष रूपमा आउने मेरो विश्वास छ l मैले सभापति रवि लामिछानेलाई पनि भनेको छु र अन्य साथीहरूसँग पनि छलफल गरेको छु l दलितको पीडाको मुद्दा दलितले मात्र उठाउने विषय होइन नि ? यो त देशको मूल मुद्दा होइन र ? मानवाधिकार र सभ्य समाजको विषय हुनु पर्दैन र ? मान्छे विशेषको मुद्दा कुनै जात विशेषको मात्र हुन्छ र ?
अन्य दलले उठाउन र बोक्न नसकेको सामाजिक मुद्दा हाम्रो दलले बोक्छ l हामी नयाँ मात्र होइनौ विषय र मुद्दालाई हेर्ने र समस्या समाधान गर्ने नयाँ दृष्टिकोण र दृष्टिबोध सहित आएका छौं l अब हामी गर्छौ नि ?’ नेपाली दृढतापूर्वक आफ्ना कुरा राख्छन् l जात व्यवस्थाको अन्त्य नेपालले गरेर दक्षिण एसियाका जात व्यवस्था अभ्यास गरेका मुलुकलाई नेपालले दृष्टान्त दिनुपर्छ l हामीसँग सिक्न आउने वातावरण निर्माण गर्नुपर्छ l जसको लागि हामी प्रयत्नशील छौं l
छुवाछुत तहगत छ ( दलित भित्रै पनि छुवाछुत छ )
हामी दलितमाथि छुवाछुत र अपमान भयो भन्छौ तर यो तहगत संरचना हो l जहाँ ब्राम्हण,क्षेत्री वैश्य र हुँदै कथित शुद्रसम्म आइपुग्दा आफूभन्दा तलकोलाई सबैले थिच्दै,थिच्दै आएका छन् l स्वयं शुद्र भनिएकाहरूमा पनि परस्परमा छोइछिटो छ l दलित भित्रको छुवाछुतको आफै भुक्तभोगी र पीडित हुन शिव नेपाली l उनी सार्कीका छोरा हुन् l सार्की समुदाय दमाई समुदायभन्दा आफूलाई एक स्टेपमाथि राख्छ जात व्यवस्थामा त्यसैले आफ्नै समुदायमा गरिएको प्रेम विवहाको कारण नेपालीले आफ्नै घरसँग लुक्नु पर्यो भाग्नु पर्यो l
कालिका मल्टिपल क्यापस पढदा शिवलाई प्रतीक्षा नेपाली खुब मन परेको थियो तिनै प्रतीक्षालाई २०५७ मा लब म्यारिज त गरे तर दुलही घरभित्र भित्रयाउन पाएनन् l शिवले परियारकी छोरी बिहे गरेको कारण उनकी फुपू जो अविवाहित हुनुहुन्थ्यो,घर छोडेर हिंड्नु भयो र अलग्गै बस्नु भयो आज पर्यन्त शिवको घर फर्कनु भएको छैन l यी दुखका कुराले शिव निकै भावुक बने र आँखा भिजाए l जात व्यवस्थाले दुखाएको आँशु निकाले त्यो पनि आफ्नै घर र उही अछुत भनिएको समुदायबिचको बिहेको कारण शिवले आफ्नो पीडा ऐयाको रूपमा आँखाबाट निकाले l शिव सुनाउँछन् हाम्रो समुदायमा नै जातमा यति कट्टर छ अन्य जात र समुदाय झन् आफूलाई उपल्लो श्रेणीमा राख्छ तिनले समाजलाई गर्ने व्यवहार कस्तो होला ?
अन्तर्जातीय विवाह र पीडा हाम्रो समाज यस्तो जातीय हाइर्याकिमा चल्छ कि जहाँ दलित भित्र पनि सानो र ठुलोको भेद बेस्सरी छ l शिव जातपात ठुलो सानोको भेद हुँदैन भनेर नै मान्थे जसको कारण उनले दलित भित्रको कथित सानो जातसँग विवाह गरेको कारण घर छिर्ने अनुमति पाएनन् र लोककवि अलिमियाको छोरा फजलमियाको घरमा १९ दिनसम्म बस्नु पर्यो l कवि मियाको परिवारले शिवलाई आपतमा आश्रयको न्यानो छाहारी दियो l मिया परिवारको कुरा गर्दा शिव बहुत आभारी देखिन्थे l भागी विवाह गरेर लुक्दै छिप्दै बस्नुपर्दा आर्थिक रुपले अप्ठ्यारो परेको थियो । कलेजमा फि तिर्ने पैसा समेत थिएन। त्यतिबेला आफुलाई प्रकाश,विकाश र सोमले फि तिर्ने पैसा दिएको कुरा मेरा लागि स्मरणीय छन् ।
नवराज विकहरूको रगतले भेरी रक्ताम्य भएको यही जात व्यवस्थाको अन्धविश्वास,सामाजिक, धार्मिक मनोविज्ञानले हो l गणतन्त्र प्राप्तिपछि पनि ३ दर्जन दलित समुदायका मान्छे छोइछिटो र जातको कारण मारिएका छन् l पशु पंक्षीले सम्मान पाउँछन् तर मान्छेले मान्छेलाई पशुसरह पनि मान्दैन अनि रिस उठ्दैन कार्कीजी ? अन्याय विरुद्द बोल्यो कि दलितको ठुलो स्वर भन्छन् पीडा बोकेको मान्छे, सँधै दुखेको मान्छे र मान्छे हुन नपाएको एउटा मान्छे कसरी बोल्छ ? ठुलो स्वर पीडा र दुखको आवाज हो l हजारौ वर्ष थिचिएर बस्नु पर्दाको दर्दको प्रकटीकरण हो l दलितहरू जहिल्यै सहेर बस्दैनन् ? अब अन्याय सहने दलितका बुता सकिन लागे हामी बोल्छौ l समाजको गलत भाष्य बदल्छौ l पीडा मिश्रित आक्रोश पोख्छन् नेपाली l
सिद्दान्त नभएको पार्टीमा किन लाग्नु भयो ?
सिद्दान्तको शास्त्रीय परिभाषा बदल्नु पर्ने छ l हामीसँग काम गर्ने सिद्दान्त छ l सिद्दान्तको शास्त्रीय झोली छैन l हामी जनताले खोजेको र रोजेको कुरा गर्छौ l काम गर्दै जाँदा सिद्दान्त आफै बन्छ l सिद्दान्तका ठुला ठेलीले हुने भए पुरानादलहरूसँग सिद्दान्तको कमि छैन l नेपाल पहिले नै बन्नु पर्ने हो ? बनेन् त ? सिद्दान्त भएका दलहरूले किन काम गर्न सकेनन् त ? हाम्रो सिद्दान्त काम गर्दै जाँदा विकसित र परिष्कृत हुँदै जान्छ l सिद्धान्त आफैले केही गर्दैन गर्ने भए नेपाली राजनीतिमा कत्रा कत्रा र कस्ता कस्ता सिद्दान्तका ठेली पढाइएका छन् l पार्टीहरू सैद्दान्तिक होइन व्यवहारिक बढी हुनुपर्छ l
हामी व्यवहारवादसँग सिद्दान्त बनाउँछौ l कुनै पनि नयाँ पार्टी खुल्ने बितत्तिकै सिद्दान्त कहाँ बन्छ ? सिद्दान्त कामको प्रयोगशालामा बन्छ र खारिन्छ l रवि लामिछानेले सिद्दान्त लेखौंला अनि राजनीतिमा आउला भनेको भए आज हाम्रा कारण जे जति सकारात्मक प्रभाव परेका छन् l संसद गतिशील र आकर्षक लाग्न थालेको छ l संसदमा बन्ने नियम,कानुन र विधेयकबारे बाहिर आम मान्छेले छलफल गर्न पाएका छन् यी सब हामी सिद्दान्त नभएका मान्छेको संसदमा उपस्थितिको कारण सम्भव भएको हो नि ? डेलिभरीको राजनीति जनताको आवश्यकता सम्बोधन र देशले गर्ने प्राथामीकिकरण नै हाम्रा सिद्दान्त हुन् l हामी हाम्रै भूमिको धरातलीय यथार्थमा आधारित र विश्वमा परीक्षित वादहरूका राम्रा र असल कुरा समेटेर आफ्नो मौलिक सिद्दान्त निर्माण गर्छौ l
राजनीतिमा लाग्न प्रेरणादिने व्यक्तिहरू
बुबा ध्रुवलाल नेपालीको मेहनत र कृषि कर्म अनि व्यवसायको शिलशिलामा पूर्वका विभिन्न बजार जितपुर, बिरगंज, पश्चिमा पाल्पा, छहरा र रिढी, नेपालगन्ज बाजुरासम्म गएर गरेको अथक मेहनतले आर्थिक अवस्था समेत सुधार्नु भयो र समाज बुझ्ने गरी मलाई पढाउनु भयो र व्यवहारिक ज्ञान सिकाउनु भयो आज पनि बुबाकै छत्रछायाँमा छु l शिक्षा नै जुनसुकै ढोका खोल्ने माध्यम हो भन्ने बुझ्नु भएका बुबाले हामी चार सन्तती म सहित तीन बहिनीलाई कक्षा १२ पास गर्ने वातावरण दिनु भयो l आफ्ना बाजे, बराजुको सत्कर्मले होला शायद मलाई नेपाली जनताको सेवा गर्ने थलोमा पुग्न आशिर्वाद मिल्यो l त्यसैगरी शिव सम्झन्छन् : जापानमा बस्ने साथी सोम विकको भरोसा, चोमराज थापा र विश्व सिग्देलहरूको राजनीतिक मार्गदर्शन,सञ्जीव बाँस्तोलाको हौसला, संगम क्लबका संस्थापक प्रकाश गुरुङको ढाडस, रास्वपाका अरबिन तुलाचन, नारायण थापा र अन्य थुप्रै साथीहरूको साथप्रति मेरो सम्मान र स्नेह उत्तिकै छ l आमा, बुबा,जीवन संगिनी प्रतीक्षा,छोरा,छोरी र बहिनीसाथ रहेका शिव आफ्नो परिवारलाई आफ्नो उपलब्धिको भरोसायुक्त आधार मान्छन् भने जस रास्वपालाई दिन चाहन्छन् l
पुराना पार्टीका नेताहरूलाई सम्मान
प्रजातन्त्र हुँदै गणतन्त्र सम्मको यात्रामा सङ्घर्ष गर्ने, जेलनेल जाने दुख पाउने सबै नेता र सहिदप्रति विशेष सम्मान छ l समावेशी र समानुपातिक मुद्दा बोक्ने र दलितको विषय उठाउने नेता प्रचण्ड हुन् उनको योगदानलाई हामीले अवमूल्यन गर्यौ भने राजनीतिप्रति बेइमानी र इतिहासप्रति अन्याय हुन्छ l त्यसैले विगतमा गरेको संघर्षको लागि उहाँहरू धन्यवादको पात्र हुनुहन्छ l उहाँहरू अब सम्मानित नेता भएर अभिभावक भएर बस्नु पर्छ अब हाम्रो पालो नेपाली आफ्नो राजनीतिक दावी प्रस्तुत गर्छन् l
अर्को पटक समानुपातिकको सजिलो बाटोबाट कि प्रत्यक्ष चुनाव लड्नु हुन्छ ?
अब प्रत्यक्ष चुनाव लडने l मलाई समानुपातिक र समावेशी विषयले यहाँ पुर्याएको हो l तर प्रत्यक्ष चुनाव लड्ने र आगामी चुनावमा दलित समुदायको पनि आजसम्मको इतिहासमा सबैभन्दा बढी चुनाव जितेर आउने रेकर्ड पनि रास्वपाले बनाउने हो l त्यसैले मेरो रुचि प्रत्यक्ष चुनावमा छ l यद्दपि पार्टीको तत्कालीन रणनीति र अवस्थाले यसको निर्धारण गर्छ, मेरो जोड प्रत्यक्ष चुनाव नै हो l व्यक्ति समुदायको प्रतिनिधित्व गुणात्मक हुनुपर्छ l सम्बोधन र व्यस्थापन व्यक्तिको होइन मुद्दाको हुनुपर्छ अब हामी त्यसरी नै काम गर्ने छौं l
राजनीति गर्न खर्च व्यवस्थापन कसरी गर्नु हुन्छ ?
अहिले सांसद छु,आफ्नो लागि खर्च यसैबाट चल्छ l व्यवसाय गर्दा केही गुमाए पनि केही संचिति छ l म सामान्य अवस्थामा राजनीति गर्न सक्छु l राजनीति धनले गर्ने होइन जनताको मन जितेर गर्ने हो त्यसैले खर्चकै कारण अप्ठ्यारो नहोला l रास्वपा महङ्गो चुनाव र खर्चिलो राजनीतिमा विश्वास गर्दैन l सामान्य मान्छे सामान्य खर्चले चुनाव जितेर आउन सक्छ भन्ने दृष्टान्त पहिलोपटक हाम्रो पार्टीले पेश गरीसकेको छ l राजनीति सामान्य मान्छे तर इच्छा शक्ति भएको मान्छेले गर्ने वातावरण हामीले निर्माण गर्दै आएका छौं l राजनीतिमा रहेको एकाधिकारवाद र केन्द्र भन्जन हाम्रो उदेश्य हो l सर्वसाधारणमा राजनीतिको पहुँच स्थापनार्थ हामी आएका हौ र केही नमुना पेश गरिसकेका छौ l पार्टी स्थापना भएको छ महिनामा नै राष्ट्रिय पार्टी बन्नु र चौथो ठुलो दल बन्नु यसैको उदाहरण हो l
जातीय छुवाछुत र भेदभावमा आफै पर्नु भएको छ कि ?
व्यक्तिगत रूपमा आफू परेको भनेको आफ्नै परिवारमा मात्रै हो,तर समुदायको पीडा शुल बनेर दुख्छ नि ? देशभरको ज्यादती सुन्दा मन कति पोल्छ र पिरोलिन्छ l सांसद भएपछि यदाकदा दलित कोटाको सांसदभन्दा चित्त दुख्छ l राजनीतिमा आउनु अघि म सामाजिक काममा क्रियाशील मान्छे हुँ l आज दलितको कोटा भन्नेले विगतमा मैले राष्ट्रिय स्तरका ७,८ जना खेलाडी उत्पादन गर्ने क्लवको नेतृत्व गरेको, भूकम्पको बेला सहयोग गर्न दिनरात कुदेको, उद्दार राहतको लागि खटेको, नाकाबन्दीमा पनि जनताको चुलो बाल्न सघाएको,कोरोनाकालमा पनि आफ्नो ज्यानको माया नगरी समाजको लागि औषधि पानी भन्दै दौडेको अस्पताल धाएको बिर्सेर मान्छेहरू अकस्मात उम्रेको झैँ गर्छन् l यस्तो सुन्दा भने अलि नमिठो लाग्छ l कोटा दलितको लागि मात्र छैन नि प्रतिनिधि सभामा ११० कोटा छन् जसमध्ये दलित १६ जना मात्र छौ l अब भन्नुस् कोटा दलितको लागि मात्र र दलित मात्र कोटामा परेका हुन् त ?
नेपालको इतिहासमा देशलाई कहिल्यै घात नगरेका दलित समुदाय, बरू दलित भनेर सदियौंदेखि अपमान र उपेक्षामा बाँचेका दलित समुदायका फरासिला, रसिला र हार्दिकता भएका यी माननीय शिव नेपालीले देशको गौरव राख्न योगदान गर्न सकून् पङ्क्तिकारको पनि शुभकामना l
(लेखक - सञ्जीव कार्की त्रिभुवन विश्वविद्यालयका एमफिल/पीएचडी अनुसन्धाता हुन् l )
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०