काठमाडौं । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
२०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनको छोराको सम्पर्क देखिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ ।
उक्त सुन प्रकरणमा सीआईबीले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । काठमाडौँ जिल्ला अदालतले साउन २ गते यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यो प्रकरणमा ९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटीमा रिहा भएका छन् भने दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०