काठमाडौँ । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई काठमाडौँमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ ।
सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दै छ ।
दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले काठमाडौँ आउँदा यिनै भवनमा बस्न पाउनेछन् । करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरू बनाइएको छ ।
यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ । लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरू तयार गरिएका हुन् । शयन कक्षदेखि भान्साकोठासम्म पनि छन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०