काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ दिनसम्म ‘संगठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।
बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ ।
सरकारी वकिलले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ ।
सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ । सीआईबीको अनुसन्धानमा उनले तत्कालीन जिल्ला मालपोत कार्यालय, भक्तपुरको प्रमुख रहँदा भूमाफियालाई सहयोग गर्ने गरी काम गरेको खुलेको थियो ।
त्यसवापत शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो ।
तर, सीआईबीले उनलाई प्रतिवादी बनाएन । बरु सीआईबीले प्रतिवादी बनाउन नपर्ने भनेको सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
ललितानिवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०