काठमाडौँ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा सरकारका बहालवाला कृष्ण बहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सचिव राउतलाई मुद्दा नचलाउन राय दिएकोमा सरकारी वकिलले भने सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको स्रोतले बताएको छ ।
ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । तर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएसँगै उनी करिब दुई सातापछि रिहा भएका थिए । निर्णयकर्तालाई उन्मुक्ति दिएर जिम्मेवारी निर्वाह गर्ने कर्मचारी मुद्दा चलाएको भन्दै कर्मचारी वृत्तमा व्यापक विरोध भएको थियो ।
शाखा अधिकृत छँदा ललिता निवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो । जबकि उनी भन्दा माथिका अधिकारीले उनको टिप्पणीलाई नछोईकनै अघि बढाएका थिए ।
ललिता निवास प्रकरणमा २८६ आरोपीलाई सङ्गठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो तर सरकारी वकिलले सङ्गठित अपराधको कसुरमा पनि मुद्दा नचलाउने निर्णय गरेको छ ।
यता निर्णय गर्नेलाई भने उन्मुक्ति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीको भूमिका नै महत्त्वपूर्ण र अन्तिम मानिने भएपछि उनीहरूलाई भने साक्षीका रूपमा मात्रै राखिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०