काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ ।
बुधबार बसेको बैठक सुरु हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।
आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०