काठमाडौँ । घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्गका इन्जिनियर हरिकुमार पोखरेलसँग मिलापत्र दबाब दिनेविरुद्ध पनि मुद्दा दायर भएको छ । पोखरेलसहित ५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
आफ्नो घरमा काम गर्न राखेकी महिलालाई बलात्कार गरेको आरोप पोखरेलविरुद्ध थियो । अन्य चारजनाले पीडितलाई मिलापत्र गर्न दबाब दिएको अभियोग पत्रमा उल्लेख छ ।
पक्राउ पर्ने अन्यमा पर्सा वीरगञ्जका ३६ वर्षीय रञ्जितकुमार जैसवाल, दैलेखको डुंगेश्वर-५ का २८ वर्षीय रामजी भन्ने चेतन न्यौपाने, खोटाङ बतासेका ५५ वर्षीय भोजराज रेग्मी र काभ्रे भीमखोरीका ४१ वर्षीय अमन लामा भन्ने अमन तामाङ छन् । रेग्मी र तामाङ फरार छन् । मिलापत्र गराउन खोज्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना सजाय माग गरिएको छ ।
घटनापछि पीडितलाई मिलापत्र गर्न र प्रहरीमा जाहेरी नदिन उनीहरूले दबाब दिएको बताइएको छ । पोखरेल सहसचिवस्तरका इन्जिनियर हुन् । आफूलाई पोखरेलले पटकपटक बलात्कार गरेको भन्दै पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । पोखरेलविरुद्ध १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०