कैलाली । व्यवसायी हिक्मत थापाले आफ्ना पिताको स्मृतिमा कैलालीको जानकी स्थित अरुणोदय माविलाई एक लाख रुपैया सहयोग गरेका छन् । थापाको यो सहयोग विद्यालयमा स्थापना गरिने डिजिटल लाइब्रेरी बिस्तार तथा आधुनिकीकरण परियोजनाका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले आजको न्युजलाई बताएका छन् । स्वर्गिय पिता गगनसिंह थापाको ७५औ जन्मदिनको अवसर पारेर व्यवसायी थापाले विद्यालयलाई सहयोग गरेका हुन ।
गैर–आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष समेत रहेका थापा विगत १४ वर्षदेखि अफ्रिकी मुलुक नाइजेरियामा कार्यरत छन् । पुस्तकालय व्यवस्थापनका लागि थापा कै पहलमा युगान्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत तथा अफ्रिकाका उद्योगपति डा. सुधीर रूपारेलिया अध्यक्ष रहेको दि रूपारेलिया फाउण्डेशनले ५ हजार अमेरिकी डलर (झण्डै साढे ६ लाख रूपैयाँ बढी) सहयोग गर्ने भएको छ । यो सहयोग पनि व्यवसायी थापाकै पहलमा भित्रिन लागेको विद्यालयले जनाएको छ ।
पुस्तकालय व्यवस्थापनको काम असोज महिनाभित्रै पूरा हुने प्रधानाध्यापक भाटले जनाएका छन् । उक्त डिजिटल लाइब्रेरीमा झण्डै १० हजार बढी पुस्तक तथा पठनीय सामाग्री उपलब्ध हुने विद्यालयका प्रधानाध्यापक भाटले जानकारी दिएका छन् । विद्यालयले यसै बर्ष आफ्नो स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ र सो महात्सोवको सुभारम्भ यसअघि भाद्र १ गतेनै गरिसकिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०