काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी चिन्तकको रूपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए ।
सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए। उनले स्व. गिरीका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने बताए।
उनले भने, ‘समाजवादी चिन्तकको रूपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ। उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो। उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ। उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु। उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ।’
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०