काठमाडौँ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा सहभागी अन्य दलका शीर्ष नेताहरू बैठकमा सहभागी छन् ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ । असार ४ गते गठन भएको मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने सन्देश सभाको स्थान र मिति तय गर्न छ ।
बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ । मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो ।
मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ । कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन/तीन जना र जिल्लामा दुई/दुई जना रहने छन् । प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ ।
मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०