काठमाडौँ । सभामुखले बोलाएको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय हो कि होइन भन्ने बहस भएको छ ।१० साउनयता अवरुद्ध सदन सञ्चालन गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सरकारलाई आतङ्ककारी भनेको र यो शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । उनले शर्मा बोलेकै दिन पनि संसदमा नियमापत्ति गरेका थिए ।
शर्माको दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अध्ययन गर्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पदम गिरीले भने सांसद शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने मत राखेका थिए ।
बैठकमा कानुननमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । एक सहभागीका अनुसार गुरुङले शर्माले असंसदीय शब्द नबोलेको बताए ।
मोरङ ३ बाट निर्वाचित काँग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउनको संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?’
शर्मालाई नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ साउनमा पक्राउ गरेको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी भोलिपल्ट २६ गते छुटेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०