काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने जनाइएको छ ।
समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग सोमबार छलफल गर्ने निर्णय गरेको समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०