नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विपि कोइरालाका कान्छा छोरा डा शशांक कोइराला अहिले नेपाली कांग्रेसको निर्वाचित महामन्त्री हुनुहुन्छ । राजनीतिक दलका नेताहरुले संघीयता बुझ्न नसक्दा वर्तमान राजनीतिक जटिला उत्पन्न भएको बताउदै आउनु भएका कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनताको मत लिनुपर्नेमा जोड दिनुहुन्छ । २०७४ साल माघ ८ भित्रमा तीन तहको निर्वाचन गर्नुपर्ने भएपनि राजनीतिक दृढदा नदेखिएको बताउँदै उहाँले अाजको न्युजसँग विपि कोइरालाबाहेक अर्को राष्ट्रवादी नेता नपाएको दाबी गर्नुभयो।
संशोधन भन्दा पहिला स्थानीय निर्वाचन गर्नुपर्छ
हामीले सात प्रदेशको संघीयता अंगाल्यौ । तर संविधान जारी हुनुअघिदेखि नै सीमांकनको विषयमा विवाद देखियो । अहिले सदनमा पेश भएको संविधान संशोधन प्रस्ताव जस्ताको त्यस्तै पारित गर्नु उचित हुन्न । मैले सभापति शेरबहादुर देउवाजीलाई सीमांकनको विषयमा अघि नबढ्न आग्रह समेत गरेको छु । यसको बारेमा म के भन्न चाहन्छु भने ‘हालसालै बनारासबाट फर्कनेक्रममा म वुटवल र भैरहवा आइपुँगे त्यहाँको मास हेरेर म त आश्चर्यचकित भएँ ।’ ७५ हजारको मास थियो त्यहाँ जहाँ कांग्रेसका नेताहरुले पनि बोले, एमालेका नेताहरुले पनि बोले अरुहरुले पनि बोले त मालाई चाहिँ के लाग्यो भने कि जस्तो अहिले मधेसीहरुले दुई नम्बर प्रदेशको र थप पाँच नम्बरमा पनि उनीहरुलाई स्थान चाहियो भन्ने कुरालाई लिएर शेरबहादुरजीले पाँच नम्बर प्रदेशबाट पहाड र तराईलाई छुट्याउने जुन कुरा गरिरहनु भएको छ त्यो गतल हो भन्ने मलाई लाग्यो । गुल्मी, अर्घाखाँची, पाल्पाबाट आएका व्यक्तिहरुको त्यत्रो ठूलो मासले व्यक्त गरेको भावना विपरित संविधान संशोधन नहोस भन्ने मेरो धारणा हो । हामीले संविधान संशोधनका ती विषयमा पुनर्विचार गर्नुपर्छ । पहिलो त स्थानीय तहको निर्वाचन हुनुपर्यो त्यसपछि प्रदेश र संघीय निर्वाचन हुनुपर्यो । अहिलेको अवस्थामा त्यो भन्दै गर्दाखेरी अहिले जसरी हामीले संविधान ९० प्रतिशतले पारित गर्यो त्यस्तै अहिले पनि हामीले मधेसी, एमाले र सरकारमा रहेका अन्य दलहरुसँग वार्ता गरेर एउटा ठोस केही निकाल्न सक्छौँ कि भन्ने छ । किनभने २१ औँ शताब्दिमा हरेक कुरा संवादको माध्यमबाट हुनुपर्छ । हामीले संघीयतामा जाँदै गर्दा नयाँ परिवर्तनको भएको महशुष जनताले फिल गरेको छ तर मेरो ठाउँ कहाँ हो भन्ने हामीले दिन सक्या छैन । अमेरिकाको संविधान आजभन्दा २५० वर्षअघि लेखियो । त्यो लेख्ने वित्तिकै पहिलो पाँच वर्षमा २७ वटा बुँदामा परिवर्तन भयो ५५ जनाले ६ महिनामा लेखेको संविधान त्यसपछि दुई सय वर्ष केही परिवर्तन भएन । सुरुको स्टेप्सहरु गाह्रो हुन्छ । हामीले पनि नमिलेका कुराहरु मिलाएर यो संविधानलाई जसरी भए पनि पालना गर्नैपर्छ ।
संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा सरकार चुक्यो
यति ठूलो भुइचालो आयो । १२ वटा जिल्लामा त्यती ठूलो क्षति भयो, त्यसमा सरकारले खास ठोस काम गर्न सकेन हुनत अहिले प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत परिवर्तन भएको छ । यो अवस्थामा केही काम होला कि भन्ने अपेक्षा मैले गरेको छु । तर दुई वटा जाडो कटिसकेका छन जनताले । पीडामा रहेका जनता गरिब छन, युद्ध स्तरको काम हुनुपर्नेमा सरकार निरीह बनेर बसेको छ । विदेशी सहयोगहरु थुप्रै आए तर प्रयोग हुन सकेन जुन दुखद् कुरा हो । संविधान कार्यान्वयनका लागि जति पनि पहलकदमी हुनुपर्दथ्यो त्यो पनि हुन सकेन ।
निर्वाचनका लागि राजनीतिक दृढता देखिएन
निर्वाचन गराउछु गराउछु भन्ने राजनीतिक दृढता हुनुपर्ने हो न दलमा छ न सरकारको नेतृत्व गर्नेमा । तर यो भन्दै गर्दा निर्धारित समयमा तीन वटा निर्वाचन हुनैपर्छ । मेरो दृष्टिकोणमा स्थानीय निर्वाचन तत्काल र यथास्थितिमा हुनुपर्छ । नयाँ संरचना जाँदा फेरी विवाद हुन्छ । निर्वाचनपछि तीन महिना जतिको समय पाइन्छ । त्यो समयमा सीमाको कुरा गरेर कसरी सीमा काट्दा राष्ट्रलाई फाइदा हुन्छ त्यो हिसाबले काम गरेर अनि त्यसपछि प्रदेशको निर्वाच्न गर्नुपर्छ र अन्त्यम चाहिँ संघको निर्वाचन गर्नुपर्छ ।
निर्वाचनमा जान मधेसी दलहरु तयार हुनुपर्छ
मुख्य दलहरु एमाले संशोधन प्रस्तावको विपक्षमा छ, कांग्रेस–माओवादी पक्षमा छ, मधेसी दलका नेताहरु पहिला तपाईहरु संशोधन प्रस्ताव पारित गर्नुस अनि त्यसपछि मात्रै चुनाव गराउनुस भनेर भन्दै छन । मेरो आग्रह मधेसी दलहरुलाई पहिले स्थानीय निर्वाचन गराऔँ त्यसपछि खुकुलो भएर आउछ त्यसपछि दृढता देखिन्छ र अब सबै निर्वाचन समयमै गर्नुपर्छ भन्ने हुन्छ । एउटा चुनाव भएपछि विवाद साँघुरिदै जान्छ ।
कांग्रेसको भूमिका कमजोर भएकै हो
सबैभन्दा ठूलो दल, सबैभन्दा पुरानो दल भएका नाताले नेपाली कांग्रेसले नै मियो बनेर सबै पार्टीहरुलाई चलायमान गर्नुपर्ने हो तर हुन सकेको छैन । यो कुरा मैले सभापतिजीसँग पनि राख्या छु । सबै कुरा छाडेर वार्तातिर लाग्नुस, मधेसी दलसँग वार्ता एमालेसँग वार्ता, माओवादीसँग वार्ता गरेर निकास चाहिँ हामीले नै दिनुपर्छ भन्ने मेरो धारणा छ । किनभने हामीले नै गरेर नयाँ संविधान जारी भएको हो । सबैभन्दा बढी जिम्मेबारी त नेपाली कांगेसकै हो नि संविधान कार्यान्वयन गर्नका लागि । त्यसैले अहिले एउटा मियोको रुपमा शेरबहादुर देउवाले काम गर्नुपर्छ ।
विपिबाहेक कोही पनि राष्ट्रवादी हैनन्
एमालेको रणनीति अनुसार उसले राष्ट्रवादी शक्तिको रुपमा आफूलाई पहिचान गराउदै लगेको छ, मेरो दृष्टिकोणमा विश्वेश्वरप्रसाद कोइरालाबाहेक कोही पनि राष्ट्रवादी शक्ति हो र छ जस्तो लाग्दैन । एमाले सरकारमा हुँदा राष्ट्रका लागि के गरेको थियो त ? कतिपय सन्धीहरु मिचेर गयो, कित सन्धी समाप्त पारेर गायो । त्यसैले उनीहरुले राष्ट्रवादी भनेर आफूलाई चित्रित गर्न खोज्नु राजनीतिक दृष्टिकोणले ठीकै होला । तर जनताले त्यो स्वीकार्दैनन् ।
दलहरुले ज्ञानेन्द्रको सुझाव सुन्नुपर्छ
ज्ञानेन्द्र शाहले स्वतन्त्र नागरिक र पूर्वराजाको हैसियतले दिएको सुझाव दलहरुले लिनुपर्छ । उहाँको कुरा सुनेर एकैपटक प्रतिक्रिया दिनु राम्रो हुँदैन । भारतीय राजदूतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्नु राम्रो होइन र उनले गलत गर्दा बिरोध गर्नुपर्छ ।
(महामन्त्री कोइरालासँग गरिएको कुराकानी यहाँ हेनर् सक्नुहुनेछ ।)
हिन्दू राष्ट्रको विषयमा जनताको मत निर्णायक
हिन्दू जस्तो उत्कृष्ट अन्य कुनै धर्म नै छैन
राज्य जनताको भावनालाई समेटेर अघि बढ्नुपर्छ । धार्मिक स्वतन्त्रता हुनुपर्छ । निरपक्षे, सापेक्ष र कम्युनिष्टहरुले भनेजस्तो शून्य केही हुँदैन । हिन्दू धर्म कुनै अन्य धर्मसँग दाज्नै मिल्दैन । हिन्दू जत्तिको उत्कृष्ट धर्म त संसारमै छैन मैले अन्य धर्मको बारेमा पनि पढेको छु । धर्म लगायतको विषयमा निर्णय गर्दा जनतामा जानुपर्छ ।
कांग्रेसको विभागहरुले चाँडै नै पूर्णता पाउँछन
पार्टीको पदाधिकारी मनोनयन र विभागको गठनका लागि मैले पार्टी सभापतिलाई पर्याप्त दबाब दिएको छु । उहाँ पनि व्यस्त हुनुहुन्छ । उहाँले एउटा संयन्त्र बनाएर काम गर्छु भन्नु भएको छ । आशा छ चाँडै नै कांग्रेसले आफ्नो विषयमा महत्वपूर्ण निर्णय गर्दै अघि बढ्छ ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७३