काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर ‘बालेन’ले सिंहदरवारमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका हुन् ।
सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो ।
हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन् । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।
काठमाडौँका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ । तर, महानगरको प्रयासमा गृहलगायतका मन्त्रालय सहयोग र समन्वय नगरेको गुनासो महानगर प्रमुख शाहले गर्दै आएका छन् ।
आजको बैठकमा उनले यस विषयमा ब्रिफिङ गरेका थिए । यसैगरी तीनकुनेमा पार्क निर्माणका लागि अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा वितरण नभएको विषयमा पनि उनले प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराए ।
दुवै विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर सकारात्मक जवाफ दिएको महानगरले स्रोतले जनाएको छ । बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । बैठक करिब डेढ घण्टा चलेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०