काठमाडौं । नेपाल सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा भएको पाँच बुँदे सहमतीलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको अभिव्यक्ति प्रति आम जनता पार्टी (आजपा) ले आपत्ति जनाएको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै सरकार र पीडितका बीचमा भएको सहमतीलाई लिएर पाण्डेले दिएको अभिव्यक्ति आपतिजनक रहेको जनाएका छन् । पीडितलाई न्याय दिलाउँने अभियानमा सहयोग गर्नुको साटो अपराधि जोगाउने किसिमको अभिव्यक्ति नदिन आजपाले पाण्डेलाई चेतावनी समेत दिएको छ ।
‘गौर हत्याकण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बिच भैईसकेको पाँच बुँदे सहमतिलाई लिएर हिजो साँझ कथित सतारूढ़ गठबन्धनको नाममा सञ्चारकर्मीहरूसंग राजेन्द्र पाण्डेले गरेको आपत्तिजनक सम्प्रेषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पाण्डेले व्यक्ति गरेको अभिव्यक्ति उनको व्यक्तिगत मनोगत कुण्ठा मात्र हो की सत्तारुढ गठबन्धनको आधिकारीक धारणा हो भन्ने बारेमा स्पष्ट पार्न समेत आजपाले माग गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रति लक्षित गर्दै ‘काण्डै काण्डको नाईकेका उपाध्यक्षले फेरी अर्को काण्डको बचाउ गरेको देख्दा लाज पनि लजाएको छ । यो घोर आपत्तिजनक सम्प्रेषण राजेन्द्र पाण्डेको मनोगत कुण्ठा मात्र हो कि नेपाल सरकारको आधिकारिक धारणा पनि हो, यसबारे यथाशीघ्र सु–स्पष्ट गर्न सरकारसंग जोडदार माग गर्दछौं’ आजपाले भनेको छ ।
साथै यस्ता बिषयले सरकार आफैले गरेको सहमती कार्यान्वयन नगरी पछाडी हटेको हो की भन्ने आशंका आजपाले गरेको छ । साथै गौर हत्याकाण्डका पीडितलाई न्याय नदिन र अपराधि जोगाउँन गौरबाट सुरु भएको ६ दलीय सरकारी गठबन्धनको प्रदर्शन प्रधानमन्त्री निवास बालुवाटरबाट पदार्पण भएसंगै देशमा कानूनको शासन र मानव अधिकारको ठुल्लो उपहास भएको आजपाले जनाएको छ ।
‘यसले कथित गठबन्धनको नाममा सरकार पछाडि हट्न खोजेको होकी भन्ने आशंका बढाएको छ । यस अप्रत्याशित हर्कतले अपराधीहरुलाई जोगाउन ६ दलीय सरकारी गठबन्धनकको व्यानरमा गौरबाट सुरु भएको प्रदर्शन हिजो बालुवाटारमा पदार्पण भएसंगै देशमा कानुनको शासन र मानव अधिकारको ठुल्लो उपहास गर्दै पीडितहरुलाई झन पीडित बनाएको छ’ आजपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आजपा अध्यक्ष एवं सांसद प्रभु साहलाई संकेत गर्दै पाण्डेले दिएको अभिव्यक्तिले उनी अपराधि जोगाउन लागिपरेको पुष्टि हुन्छ । ‘यस घटनामा प्रारम्भिक समयदेखि नै निरन्तर पीडितहरूलाई न्याय दिलाउन प्रतिबद्ध एवं सक्रिय रहँदै आउनु भएको नेताप्रति नै बिभिन्न आधारहीन एवं कपोकल्पित लाञ्क्षणा लगाई गालीगलौजको स्तरमा झरेर यस्तो गम्भीर मुद्दामा विषायान्तरको दुस्प्रयास गर्नु आफैंमा आपराधिक कार्य हो । यी र यस्ता अपराधिक कार्यको घोर भत्र्सना गर्दे कानून अनुसार कारवाहीको जोडदार माग गर्दछौं’ आजपाले भनेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०