काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्रबहादुर शाही नेपाली कांग्रेसमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् ।
शनिबार कांगेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले काँग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए ।
प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । यद्यपि सांसद शाही भने आफू जुम्लामा सक्कली कांग्रेस भएको र आफ्नो रगतमा पनि कांग्रेस नै भएको बताउँदै आएका थिए । शाहीले भने, आफू सधैँ कांग्रेस भएकोले र कारबाही फुकुवासँगै पार्टीमा फर्किएको जानकारी दिए ।
साथै उनले चुनावको बेलामा आफूलाई पार्टीले अन्याय गरेको बताए । ‘म सँग जनमत टन्नै थियो तर, पार्टीले अन्याय गरेपछि विद्रोह गर्नुपरेको थियो,’ उनले भने,‘चुनाव जितेर विद्रोहको औचित्य पनि त पुष्टि गरे नि !’
साथै उनले चुनावताका आफूले कांग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए । जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ । सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको सङ्ख्या १५ पुग्ने भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०