काठमाडौँ । गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा)ले चासो प्रकट गरेको छ ।
यस विषयमा छलफल गर्न जसपाका नेताहरू पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रूपमा भेट्दै छन् । नेताहरूका अनुसार केहीबेरमा कार्यकारिणी समितिका सदस्यहरूको भेट गर्ने तय भएको छ । जसपाका एक नेताका अनुसार नेताहरूको नियमित भेटघाट छ । कुनै औपचारिक बैठक भने राखिएको छैन ।
मङ्गलवार सरकार र गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
लगत्तै जसपाका नेताहरू अनौपचारिक छलफलमा जुटेका हुन् । अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०